तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
मनसुन अगावै सम्पन्न गर्ने गरी आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माण केही दिनमै सम्पन्न हुने तनहुँ जलविद्युत् आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर बाँध निर्माण थालिएको थियो ।
डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको थियो ।
मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनले भने, “मनसुन सुरु हुनुभन्दा पहिले नै बाँध निर्माण सक्ने गरी काम अगाडि बढाइएकामा लक्ष्य बमोजिम नै जग खन्ने काम सम्पन्न भएको छ ।”
आयोजनाको मुख्य निर्माणलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । प्याकेज १ को हालसम्मको प्रगति ३३ दशमलव दुई प्रतिशत भएको छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानीकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।
निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।
भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ ।
यस प्याकेजको हालसम्म ५६ प्रतिशत प्रगति भएको छ । आयोजनाको तेस्रो प्याकेजको रुपमा रहेको प्रसारण लाइन निर्माण हालसम्म ७३ दशमलव दुई प्रतिशत सकिएको छ । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म रहेको छ ।
भारतीय कम्पनी केइसी इन्टरनेसनलले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ ।
दमौली–भरतपुर २२० केभी ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७६ टावरहरुको जग हाल्ने र ६४ वटा टावर जडान कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।