बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) को संयुक्त आयोजनामा बेइजिंगमा नेपाल चीन बिजनेस समिट हुने भएको छ ।

द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो ।

समिट आज अर्थात सेप्टेम्बर २४ आइतबार सीसीपीआइटीको मुख्यालय बेइजिंगमा आयोजना हुनेछ ।उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहनेछ ।

नेपालका तर्फबाट महासंघ पदाधिकारी सहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदैछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता रहनेछ ।

उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ ।समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका बिषयमा आफ्नो धारणा राख्नेछन् ।

नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए ।

यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन  इन्डिष्टिसँगको  सहकार्यमा  नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।