काठमाडौं । सरकारले १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो ।
केन्द्रीय बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको र ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोलमार्फत नवीकरण गर्न लागेको हो ।
ट्रेजरी बिलका लागि आज सोमबार (साउन १ गते) दिउँसो ३ बजेसम्म बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । मंगलबार ट्रेजरी बिल जारी हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।