असारमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर, कर्जाको भने घट्ने

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाको लागि निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णय अनुसार नै वाणिज्य बैंकहरुले असार महिनाको लागि स्थिर ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुले अघिल्लो महिनाको अन्तिम दिन आगामी महिनाको लागि ब्याजदर सार्वजनि गर्नुपर्छ । सोही अनुसार बैंकहरुले आज जेठ ३१ गते असारको लागि स्थिर ब्याजदर सार्वजनिक गरेका हुन् ।

तर, कर्जाको ब्याजर भने बेस रेटका आधारमा घट्नेछ ।वैशाखदेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झारेका थिए ।

जस अनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ ।

यहि ब्याजदरले जेठ र असारमा पनि निरन्तरता पाएको छ । वैशाख यता निक्षेपको ब्याजदर घटेर स्थिर रहेका कारण बैंकहरुको आधारदर पनि घट्नेछ ।

पछिल्लो ३ महिनाको औसत बेसरेटलाई आधार मानेर कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने भएकाले कर्जाको ब्याजदर भने केही घट्ने देखिन्छ ।

यस्तै, असार मसान्तसम्म स्प्रेड दर ४ प्रतिशत मा झार्नुपर्ने व्यवस्था रहेकाले पनि कर्जाको ब्याजमा कमी आउने छ ।

यता, केन्द्रीय बैंकले प्रत्येक महिना कर्जाको ब्याजदर आधारदर अनुसार परिवर्तन गर्न निर्देशन दिइसकेको छ । यसआधारमा असारमा कर्जाको ब्याजदर भने घट्ने देखिन्छ ।