वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटी बापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्र ९२ दशमलव ५० प्रतिशत बढीले राजस्व चुहावट बापतको धरौटी रकम सङ्कलन गरेको हो ।
जबकि कार्यालयले अघिल्लो आर्थिक वर्षमा भने रु छ करोड ११ लाख ३५ हजार राजस्व चुहावट धरौटी सङ्कलन गरेको छ । कार्यालयका राजस्व अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटी बापतको रकम ह्वात्तै वृद्धि भएको जानकारी दिनुभयो ।
“यो राजस्व सङ्कलन गर्ने निकाय नभएका कारण यस कार्यालयले गर्ने कामको प्रभाव अन्य निकायको राजस्व सङ्कलनमा देखिने गर्छ”, उहाँले भन्नुभयो ।
कार्यालयले गत आर्थिक वर्षमा मात्र राजस्व चुहावट र विदेशी विनिमयमा १४–१४ गरी गरी २८ मुद्दा दर्ता गरेको छ । जबकि अघिल्लो आवमा भने राजस्व चुहावट तीनवटा र विदेशी विनियममा ११ वटामात्र मुद्दा दर्ता भएको थियो ।
कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावटको १४ मुद्दा दर्ता गरेको छ । जबकि अघिल्लो आवमा भने तीनवटा मात्र राजस्व चुहावटको मुद्दा दर्ता भएको थियो ।
कार्यालयले गत आवमा राजस्व चुहावट मुद्दाको मागदाबी रकम रु ७६ करोड ३५ लाख ३६ हजार रहेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा भने कार्यालयले राजस्व चुहावट मुद्दाको मागदाबी रकम भने रु चार करोड ५४ लाख ११ हजार रहेको थियो ।
कार्यालयले गत आर्थिक वर्षमा लिलाम बिक्रीबापत रु पाँच करोड ४९ लाख १८ हजार रकम बराबरको गरेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा भने रु ८४ लाख ८६ हजार बराबरको वस्तु तथा सामान लिलाम बिक्री गरेको थियो ।
कार्यालयमा गत आर्थिक वर्षमा भिसीटिएस जरिवाना बापत रु ९९ लाख ९८ हजार रकम दाखिला भएको थियो । जबकि अघिल्लो आवमा भने भिसीटिएस जरिवानाबापत रु ९८ लाख १५ हजार सङ्कलन भएको छ ।































