कर्जाको ओैषत ब्याजदर एकल अंकमा उद्योग र व्यापारको लगानीका लागि उपयुुक्त समय

काठमाडौं । भदौ महिनामा बैंकहरूले दिने कर्जाको औसत ब्याजदर ९.९३ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार बैंकहरूले कर्जामा दिने औसत ब्याजदर एकल विन्दुमा झरेको देखाएको छ ।

निक्षेप बढ्दै गएपनि कर्जा प्रवाह बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । त्यसैले बैंकहरूको आधार दर कम हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार क वर्गको वाणिज्य बैंकहरूको आधारदर गत २०८१ असार मसान्तमा आठ प्रतिशतमा झरेको छ ।

आधारदर घटेका कारण कर्जाको ब्याजदर पनि सस्तो भएको पाइन्छ । बैंकहरूले आधारदरमा दुई प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिइरहेका छन् । केही कर्जा योजनामा एकल अंकको ब्याजदर अफर गरिरहेका छन् ।

अहिले पुरानो कर्जाकोे ब्याजदर पनि ११ प्रतिशतभन्दा तल झरिसकेको बैंकर्सहरूले बताएका छन् । बैंकहरूले कोभिड–१९ संक्रमणपछिकै सस्तो ब्याजदरमा कर्जा अफर गरिरहेका छन् ।

एक वर्षअघिसम्म बैंकहरूको औसत ब्याजदर १२.५ प्रतिशत थियो । अहिले वित्तीय प्रणालीमा निक्षेप बढिरहेको छ । यही कारण तरलता छ,बचत प्रशस्त छ । बैंकहरूसँग अहिले पनि ६ खर्ब १५ अर्ब लगानी योग्य पुँजी रकम रहेको छ । ब्याज लागत घटाउन बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् ।

सोही कारण कर्जाको ब्याजदर पनि घट्दै गएको पाइन्छ । ब्याजदर घटे पनि वास्तविक क्षेत्रमा अझै कर्जाको माग बढ्न सकेको छैन । बरु सेयर बजारमा उत्साह र विश्वास बढेको छ ।

एक दिनमा करिब ३० अर्ब हाराहारी कारोबार हुन थालेको छ । लगानीकर्तामा आत्मविश्वास बढयो भने कसरी लगानी ओइरिन्छ भन्ने कुरा अहिले सेयर बजारमा भएको लगानीले देखाएको छ। सेयर बजार ४६ सय अंकमा पुगेर बजार रोकिने विश्लेषण भैरहेको छ।

ही कारणले पनि सेयर बजारमा लगानी बढिरहेको छ। सेयर बजार नेप्से ४६ सय नपुगेपनि ४ हजार माथि पुग्ने भने निश्चित छ। तर सेयर बजार अस्वभाविक रूपमा बढेको छ।

कम्पनीको नाफा,लाभांश वितरण र बुक भ्यालुका आधारमा नेपालको सेयर बजार नेप्से २४–२५ सयमा रहनु पर्ने हो,तर सेयर बजारका खेलाडी र लगानी गर्ने सुरक्षित ठाउँ नहुदाँ सेयर बजारमा लगानी ओइरिदा नेप्सेमा उछाल आएको छ।

एक वर्षअघि कर्जाको ब्याजदर औसत १४. १० प्रतिशत कायम गरेका विकास बैंकहरूको ब्याजदर अहिले ११.३४ प्रतिशतमा झरेको छ । त्यस्तै फाइनान्स कम्पनीहरूको औसत ब्याजदर १२.५५ प्रतिशत रहेको छ ।

गत २०८१ असार मसान्तमा विकास बैंकहरूको औसत आधारदर ९.७१ प्रतिशत र फाइनान्स कम्पनीहरूको आधारदर ११.२१ प्रतिशत कायम भएको छ ।

२०८० असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.८६ प्रतिशत, विकास बैंकहरूको ९.१४ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ५.७७ प्रतिशत, ६.६३ प्रतिशत र ७.९३ प्रतिशत कायम भएकोे छ ।

यसले कर्जाको ब्याजदर अझै घट्ने देखिन्छ । बैंकहरूले गत साउन र भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । भदौमा ११ वटा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन, ८ वटाले स्थिर राखेका छन र एउटाले मात्रै ब्याजदर बढाएको छ ।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको ब्याजखर्च पनि घटेर जान्छ । निक्षेपको लागत घटाउँदा आधारदर पनि थप घट्न जान्छ । आधारदर घट्दा कर्जाको ब्याजदर पनि घट्छ ।

त्यसैले कर्जाको ब्याजदर थप सस्तो हुने बैंकहरूले बताएका छन् । बैंकहरूसँग प्रशस्तै लगानीयोग्य रकम रहेको र कर्जाकोे माग बढ्न नसकेको अवस्थामा लागत कम गर्न ब्याजदर घटेर जान्छ । यो बेला उद्योग र व्यापारमा लगानी गर्ने समय हो।

तर बजारमा माग घटदा उद्योग र व्यापार क्षेत्रमा लगानी बढाउन कसैले चाहेका छैन। विगत दुई वर्षदेखि विश्व बजारमै लगानी र बजार माग घटेको अवस्था छ। यसले गर्दा हाम्रो देशमा पनि आयात व्यापार घटेको छ।

अहिले बैंकहरूको सीडी रेसियो ७८.९८ प्रतिशत छ । बैंकहरूले कुल निक्षेपको १० प्रतिशत तरलता राखेर बचत रकमको ९० प्रतिशतसम्म कर्जामा लगानी गर्न पाउँछन् ।