साउनमा गर्ने ब्याज आम्दानीलाई गत वर्षको नाफामा गणना गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले यही साउन मसान्तसम्म उठेको ब्याज रकम पनि गत वर्षकै (असारसम्म) आयमा गणना गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी यस्तो सुविधा दिएको हो । यसअघि साउन १५ सम्म उठेको ब्याजलाई मात्र असारसम्मको आयमा गणना गर्न पाउने सुविधा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको थियो ।

‘बैंक तथा संस्थाले लेखा नीति बमोजिम आर्थिक वर्ष २०८०/८१ मा लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

साथै, हालसम्म एनएफआरएस लागू भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुले पनि साउन मसान्तभित्र गरेको आम्दानीलाई गत वर्षको नाफामा गणना गर्न पाउनेछन् ।