काठमाडौं । गरिमा विकास बैंकको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ का लगानीकर्तालाई अनलाइनमार्फत विभिन्न सेवा उपलब्ध हुने भएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा रहेको योजनामा सहभागी लगानीकर्तालाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले गरिमा क्यापिटलले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।
क्यापिटलका अनुसार लगानीकर्ताले अनलाइनमार्फत इकाइ खरिदका लागि आवेदन दिन तथा रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै, व्यवस्थित लगानी योजना (एसआईपी) दर्ता तथा किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (डीआरआईपी) दर्ता, लगानीकर्ता दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापनको सुविधा पनि उपलब्ध हुनेछ ।
यसैगरी, लगानीकर्ताले इकाइ पुनर्खरिद, एसआईपी संशोधन तथा एसआईपी रद्द गर्नेसम्मका सेवा अनलाइनबाटै लिन सक्नेछन् । क्यापिटलले आगामी दिनमा अनलाइनमार्फत उपलब्ध हुने अन्य सेवासमेत क्रमशः थप गर्दै लैजाने जनाएको छ ।
योजनासँग सम्बन्धित सम्पूर्ण सेवाका लागि लगानीकर्ताले काठमाडौंमा रहेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा गरिमा विकास बैंकका देशभरका शाखा कार्यालयबाट समेत सेवा लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
अनलाइन प्रणालीबाट सेवा उपलब्ध हुन थालेसँगै गरिमा सुवर्ण योजनाका लगानीकर्ताले इकाइ खरिद, एसआईपी तथा अन्य लगानीसम्बन्धी कामका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता कम हुने भएको छ । क्यापिटलले यसबाट लगानीकर्तालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध हुने विश्वास लिएको छ ।






























