सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’

काठमाडौं । सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ । नेपाल फिनटेक  एक्सपो २०२६ को अवसरमा  बैंकले उक्त प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको हो ।

‘र्‍यापिड’ बैंकिङ एज अ सर्भिस (Banking as a Service) अवधारणामा आधारित प्लेटफर्म हो । यसले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवा प्रदायकका प्रणालीलाई एकआपसमा जोड्न सहयोग गर्छ ।

प्लेटफर्म बैंकको प्रणालीमा एकीकृत भएसँगै कर्पोरेट ग्राहकले विभिन्न बैंकिङ सेवा प्रयोग गर्न छुट्टाछुट्टै प्रणालीमा जानुपर्ने झन्झट हटाउने बैंकले जनाएको छ ।

यस प्लेटफर्ममार्फत ग्राहकले आफ्नै सफ्टवेयर वा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, ट्रेजरी व्यवस्थापन गर्न तथा कारोबारको स्वतः मिलान (अटोमेटेड रिकन्सिलेसन) गर्न सक्नेछन् ।

ग्राहकले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । सेवा प्रयोग गर्न बैंकमा एकपटक मोबाइल बैंकिङमा जस्तै फाराम भरेपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने बैंकले जनाएको छ ।

प्लेटफर्मले ग्राहकको सहमति लिने प्रक्रियालाई पनि डिजिटल बनाएको बैंकको भनाइ छ । यसबाट सेवा प्रयोगको प्रक्रिया सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ ।

प्लेटफर्ममा एन्ड-टु-एन्ड इन्क्रिप्सन, बहुस्तरीय प्रमाणीकरण तथा अन्य सुरक्षा प्रोटोकल प्रयोग गरिएको बैंकले जनाएको छ । र्‍यापिडले साना, मझौला तथा ठूला व्यवसायलाई एपीआईमा आधारित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

यसले व्यवसायका वित्तीय गतिविधिलाई आफ्नै प्रणालीबाट व्यवस्थापन गर्न सहज बनाउनुका साथै बैंक, फिनटेक कम्पनी र डिजिटल सेवा प्रदायकबीचको सहकार्य विस्तार गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।