भोटेकोशी बाढी प्रभावितको सहयोगमा ग्लोबल आइएमई बैंकले दियो प्रधानमन्त्री राहत कोषमा ५ करोड

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

नदीको तीव्र बहावले सयौँ नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ। साथै, नदीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनाहरू बगाएर अभूतपूर्व विनाश निम्त्याएको छ।

बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्वलाई राष्ट्रिय संकट र विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउने मुख्य कर्तव्यका रूपमा लिँदै आएको छ। यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको यस बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।