काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा नाफामा उछाल वृद्धि गरेको छ भने वितरणयोग्य मुनाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ।
विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँबाट २९३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ कायम भएको छ। बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढ्न मद्दत पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँबाट ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ नाघेको छ भने खुद फी तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख रुपैयाँबाट ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँबाट १०१ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाघेको छ।
नाफा र आम्दानीमा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ६.९४ रुपैयाँबाट उत्साहजनक वृद्धि भई २८.१७ रुपैयाँ कायम हुन पुगेको छ। खराब कर्जा (एनपीएल) पनि ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७०.८० रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा एक वर्षको अवधिमै ७९ करोड १६ लाख रुपैयाँ धनात्मक भएको छ। चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोष १४ अर्ब ७४ करोड रुपैयाँबाट बढेर १७ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ।
बैंकले उल्लेख्य मात्रामा लगानी विस्तार गरेको पनि वित्तीय विवरणले देखाएको छ। बैंकले ग्राहकमा गरिने कर्जा लगानी २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढाएर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँबाट बढेर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ। बैंकको कुल सम्पत्तिको मूल्य ४ खर्ब ४१ अर्बबाट ४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।































