नेपाल एसबीआई बैंकको वित्तीय नतिजा सार्वजनिक

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफामा १२.८९ प्रतिशतको वृद्धि देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत असार मसान्तसम्ममा आफ्नो नाफा बढाएर २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ पुर्‍याउन सफल भएको छ ।

त्यसैगरी बैंकको नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष १५ रुपैयाँ ९८ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्ममा १८ रुपैयाँ ४ पैसा पुगेको छ ।

बैंकको व्यवसाय विस्तारको गतिलाई हेर्दा निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन बढेर २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुर्‍याएको छ । त्यसैगरी ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापटी पनि बढेर १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

बैंकको कर्जाको गुणस्तरमा समेत उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष २.३५ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) घटेर गत आर्थिक वर्षको अन्त्यमा २.९२ प्रतिशतमा झरेको छ ।

त्यस्तै अघिल्लो वर्ष ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।