एनएमबि बैंकको नाफा ४० प्रतिशत बढ्यो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको अघिल्लो वर्षको तुलनामा गत वर्षमा नाफा सहित अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको हो ।

बैंकको खुद नाफा २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँबाट ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ८ अर्ब २ करोड ८ लाख रुपैयाँबाट ९ अर्ब ४२ करोड ६२ लाख रुपैयाँ नाघेको छ ।

त्यसैगरी गत वर्ष बैंकको खुद फी तथा कमिशन आम्दानी २ अर्ब १८ करोड ४५ लाख रुपैयाँबाट २ अर्ब ५९ करोड ८ लाख रुपैयाँ नाघेको छ । योसँगै बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब ८८ करोड ४५ लाख रुपैयाँबाट १९.६६ प्रतिशतले बढेर १३ अर्ब २ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

यता बैंकको सञ्चालन मुनाफा ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँबाट ६ अर्ब ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड १३ लाख रुपैयाँबाट झण्डै ८ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ९ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको ईपीएस १४.८० रुपैयाँबाट २०.१८ रुपैयाँ पुगेको छ भने एनपीएल ४.११ प्रतिशतबाट ४.९१ प्रतिशत पुगेको छ । बेसरेट ६.२२ प्रतिशतबाट घटेर ५.११ प्रतिशतमा कायम भएको बैंकको प्रतिशेयर नेटवर्थ १८१.१५ रुपैयाँ छ।

चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८७ करोड ३० लाख रुपैयाँ र रिजर्भ कोषमा १३ अर्ब ९० करोड १७ लाख रुपैयाँ छ । बैंकले २४ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३१ अर्ब ५१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।