भारतमा नेपालीलाई क्युआर भुक्तानी आरबिआईसँग छलफल

काठमाडौं । नेपाली नागरिकले भारतमा क्युआर कोडमार्फत भुक्तानी गर्न पाउने विषयमा छलफल भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्व बैंक (आरबिआई) का गभर्नर सञ्जय मलहोत्राबीच भएको भेटमा यस्तो छलफल भएको हो ।

मुम्बईस्थित आरबिआईको मुख्यालयमा भएको भेटमा नेपाल र भारतबीच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार तथा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउने विषयमा छलफल केन्द्रित रहेको बैंकले जनाएको छ ।

यसका साथै मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित बैंक सुपरिवेक्षण तथा सूचना प्रविधि क्षेत्रमा आरबिआईले अवलम्बन गरेका असल नीतिगत अभ्यासबारे पनि छलफल भएको थियो ।