कुमारी बैंकको २५औं वार्षिक साधारणसभा पुस ३० गते

काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले २५औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त साधारण सभामा भाग लिन सक्नेछन्।

साधारण सभा आउँदो पुस ३० गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे बाट शुरु हुनेछ ।