सिटिजन्स बैंकको इम्पावरिङ लिडरसिप सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘इम्पावरिङ लिडरसिप इन बागमती, सेमिनार फर पर्फरमेन्स एन्ड एक्सिलेन्स’ सेमिनार कार्यक्रम आयोजना गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारी लगायतको सहभागितामा सो सेमिनार सम्पन्न भएको हो । सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार हालै मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको र अरू प्रदेशमा पनि यसैगरी क्रमशः आयोजना गरिने बैंकले जानकारी गराएको छ ।

बागमती केन्द्रित भएको यो कार्यक्रमजस्तै अन्य प्रदेशमा पनि प्रदेशस्तरमा कार्यक्रम गरिने योजना रहेको बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको जनाएको छ ।

बैंकका अनुसार समीक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११ दशमलव १५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसअघि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११ दशमलव ६९ प्रतिशतको वृद्धि भएको छ ।

जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पु¥याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद ब्याज आम्दानीमा ११ दशमलव २० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ९१ प्रतिशत रहेको छ ।

बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याउनुका साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको बताएको छ ।

सिटिजन्स बैंकले देशैभर ६१ जिल्लामा फैलिएका २ सयवटा शाखा, १ सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।