काठमाडौं । २५ वर्ष अगाडि वि सं २०५७ सालमा १५ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको कुमारी बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक संकट मुक्त भएकाे छ। याे कुमारी बैंक र एनसीसी बैंक लिमिटेड २०७९/८० मा मर्जर भएपछि एनसीसी बैंककाे खराव कर्जाकाे कारण एकीकृत भएकाे कुमारी बैंक विगत ३ वर्षमा निकै ठूलो आर्थिक संकटमा परेकाे थियाे ।
तर बैंककाे सबै वित्तीय अवस्था भने बिग्रेकाे थिएन,मुनाफा घटेकाे थियाे,सेयर धनीहरूलाई लाभांश दिन सकेकाे थिएन। सञ्चालन मुनाफा घाटामा थियाे। अर्थतन्त्रमा आएको सुस्तताले समग्र बैंकिङ क्षेत्र नै समस्यामा रहेका बेला कुमारी बैंकले औषतभन्दा बढी दबाब झेलेकाे थियाे। बैंकले विगतमा दिएको कर्जा ऋणकाे साँबा तथा ब्याज समयमा उठ्दा नसक्दा मुनाफा रकमजति सबै सम्भावित जोखिम व्यवस्थापनका लागि छुटयाउनु परेकाे थियाे।
२०८२ बैशाख मसान्त कुमारी बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ जाेखिम व्यवस्थापनमा छुट्याएको थियो । जुन रकम बैंकको चुक्ता पुँजीभन्दा दुई अर्ब १३ कराेड बढी हो । कुमारी बैंककाे २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी र ३४ अर्ब ९७ करोड रुपैयाँ कुल पुँजी रहेको छ।
यसरी कुमारी बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ प्रोभिजन गरेपछि बैंक ६ अर्ब ७८ करोड ६२ लाख रुपैयाँले घाटामा गएको थियो । प्रोभिजनका कारण बैंकको पुँजीकोष तीब्र दबाबमा रहेकाे थियाे । यसले कुमारी बैंक थप ऋण लगानी गर्नै नसक्ने अवस्थामा पुग्यो । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण लिएको ऋण नतिर्नेहरु बढदै गए, एनसीसी बैंकले जथाभावी ऋण प्रवाह गरेकाले त्यस्ताे कर्जा जाेखिममा पर्याे।
जसले कुमारी बैंकलाई समेत संकटमा पार्याे । बैंकको बढ्दो सञ्चित घाटाले लगानीकर्तालाई निराश मात्रै होइन, बैंकको भविष्य नै के होला भनेर चिन्तित बनाएको थियो । अफबाह फैलाउनेहरुले कुमारी बैंक जुनसुकै दिन डुब्न सक्छसम्म भनेका थिए । तथ्यांकमा कमजोर भएपछि बैंकबारे नकारात्मक कुराकाटनु स्वभाविक नै हाे । तर,कुमारी बैंकले यस बीचमा निकै मेहनत गरेर कर्जाकाे साँबा र ब्याज असुल गर्याे।
नयाँ कर्जा प्रवाहमा पनि कडाइका साथ नियम कानुन फलाे गर्याे। विगतका कमजाेरी सुधार्ने र नियम कानुनलाई कडाइकासाथ फलाे गरेर अनियमित ढंगले कर्जा प्रवाह नगरेपछि बैंककाे वित्तीय अवस्थामा सुधार हुँदै गयाे। कुमारी बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
कुमारी बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणमा अधिकांश सूचकहरु उत्साहप्रद रहेका छन । साथै बैंककाे वित्तीय स्थितिमा सुधार आएकाे पाइएकाे छ। २०८०/८१ को बाह्य लेखापरीक्षण प्रतिवेदनको तुलनामा २०८१/८२ को आन्तरिक लेखापरीक्षणले नाफा बढेकाे देखाएकाे छ।
यद्यपि बाह्य लेखापरीक्षणपछि यो नाफामा भने केही फरक पर्न सक्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले कडाइका साथ कर्जाकाे साँबा र ब्याज असुल गराएकाे कारण बैंककाे नाफा बढेकाे छ। कडाइका साथ प्रोभिजन गरेकाले यसपटक बाह्य लेखापरीक्षणअघि र पछिको नाफामा धेरै फरक नपर्ने देखिएकाे छ।
नेपाल राष्ट्र बैंकको स्थलगत सुपरीवेक्षणमा आएको टोलीले दिएको निर्देशन अनुसार नै बैंकले प्रोभिजन गरेकाले यस पटक लेखापरीक्षण र लेखापरीक्षण गर्न बाँकी रहेकाे नाफामा खासै ठूलो फरक पर्ने अवस्था छैन । बैंकका सूचकांकहरुमा सुधार आएपछि सिईओ खनालको अनुहारमा चमक देखिएको छ, बोलिमा आत्मविश्वास पनि बढेको पाइन्छ ।
बैंकको सञ्चालक समिति र व्यवस्थापनको व्यवस्थापकीय रणनीति र कर्मचारीहरुको मिहेनतले यो सफलता हासिल भएको हाे ।अर्थतन्त्रको गिर्दाे अवस्थाले बैंकिङ क्षेत्रमा परेको असरका कारण कुमारी बैंक ट्रयाकबाहिर जालाकि भन्ने धेरैको चासो र चिन्ता थियो। तर बैंक व्यवस्थापन र सञ्चालन समितिले संयमित भएर बैंकलाई ट्रयाकमा ल्याउन सफल भएकाे छ ।
चालु आर्थिक वर्षको नाफाबाट अर्को आर्थिक वर्षमा यस बैंकले सेयरधनीलाई लाभांश बाँडन सक्ने स्थितिमा पुग्न सक्ने देखिएकाे छ । सञ्चित घाटामा उल्लेख्य सुधार आएसँगै पछिल्ला २ वर्षमा झेल्दै आएको पुँजीकोषमाथिको दबाब बैंकले चालु आर्थिक वर्षमा झेल्नु पर्ने छैन ।
आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब रुपैयाँले कर्जा घटाएको कुमारी बैंकले यो वर्ष २० अर्ब रुपैयाँको हाराहारीमा कर्जा बढाउन सक्ने अवस्था छ । चालु आर्थिक वर्षमा नाफा कमाउदै जाँदा कर्जा बढाउने स्पेश पनि बढ्दै जानेछ ।
जसले बैंकको आगामी दिनहरु सुनौला छन् भन्ने प्रष्ट संकेत गर्छ । पछिल्ला २ आर्थिक वर्षमा लगातार बढेको निष्क्रिय कर्जासँगै बक्यौता ब्याज पनि बढ्दा कुमारी बैंकको सञ्चित नोक्सानी बढेको थियो । बढेको सञ्चित नोक्सानीका कारण पुँजीकोषमा पनि समस्या हुँदा बैंकलाई व्यवसाय विस्तारमा समेत समस्या परेको थियो ।
२०८१ असार मसान्तमा २ खर्ब ६८ अर्ब ४३ करोड रुपैयाँ रहेको कुमारी बैंकको कर्जा लगानी २०८२ असार मसान्तमा घटेर २ खर्ब ६० अर्ब ९५ करोड रुपैयाँमा झरेको थियाे । पुँजीकोषको दबाब भएकै कारण गत आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय बढाएको कुमारी बैंकले त्यसपछिका ३ त्रैमासमा घटाउँदै लैजानुपर्ने अवस्था भयो ।
तर, गत आर्थिक वर्ष रिकभरीमा भएको सुधारले बैंकको पुँजीकोषको समस्या पनि समाधान भएको छ । प्राथमिक पुँजीकोष ८.५ प्रतिशत चाहिनेमा ८.९४ प्रतिशत पुगेको बैंकले सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख गरेकाे छ ।
आर्थिक वर्ष २०७९/८० मा साविकको एनसीसी बैंक र कुमारी बैंक मर्जर भएर कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।
दुई ठूला बैंकहरू मर्जर हुँदा त्यसले ल्याउने सिनर्जीले लगानीकर्ताले राम्रो प्रतिफल पाउने अपेक्षा थियो । तर, मर्जरमा गएर एकीकृत कारोबार सुरु गरेको आर्थिक वर्षबाट नै आर्थिक गतिविधिमा सुस्तता देखिँदा कर्जा असूलीमा दबाब परेकाे थियाे ।
त्यस्तै, मर्जरपछिको व्यवस्थापन केही चुनौतिपूर्ण हुँदा कुमारी बैंकले २ वर्ष केही समस्या झेल्नुपर्यो। नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरूलाई एकीकृत कारोबार सुरु गरेको मितिले २ वर्षसम्म निक्षेप र कर्जाको भारित औसत ब्याजदर बीचको अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरेको थियो ।
अन्य बैंकले ४ प्रतिशत स्प्रेड कायम गर्दा पनि मर्जरमा गएका बैंकले २ वर्ष ५ प्रतिशतसम्म स्प्रेड कायम गर्न पाउने थिए। त्यसले खुद ब्याज आम्दानी र नाफामा पनि लाभ पाउने अवस्था थियो । तर, मर्जरमा गएको वर्षमै कुमारी बैंकको ऋण असूली प्रभावित बन्न पुग्यो ।
सम्भावित कर्जा नोक्सानीबापत ८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ प्रोभिजन गर्नुपर्दा बैंकको नाफा ५१ करोड ७९ लाख २१ हजार रुपैयाँमात्रै भयो । अझै सोही आर्थिक वर्षबाट नै बैंक अव्यवहारिक कर नीतिले गर्दा नभएको नाफामा पनि कर तिर्नुपर्ने अवस्थामा पुग्यो।
आयकर ऐन २०५८ को दफा ५९ मा बैंक तथा वित्तीय संस्थाले सञ्चालन नाफाको ३० प्रतिशत मात्रै आयकर तिर्नुपर्ने व्यवस्था छ । तर, आयकर ऐनको दफा ५९(१क) मा बैंकहरूले लगानीमा रहेको कर्जा र गैरबैंकिङ सम्पत्ति बापत व्यवस्था गरिएको रकमको ५ प्रतिशतसम्मको रकमलाई मात्रै खर्च लेखांकन गर्न पाइने व्यवस्था छ ।
एकैवर्ष ८ अर्ब रुपैयाँभन्दा धेरै कर्जा नोक्सानी व्यवस्था गर्नुपर्दा बैंकको नोक्सानी व्यवस्था ५ प्रतिशतभन्दा माथि पुगेकोले ५ प्रतिशत माथिको प्रोभिजनमा खर्च लेखांकन गर्न पाएन । ९६ करोड सञ्चालन नाफा भएको बैंकले ४८ करोड रुपैयाँ आयकर तिरेको थियो । जसले नाफा ५१ करोड रुपैयाँमा मात्रै सीमित भयो।
यता बक्यौता ब्याज उठाउन नसक्दा नाफा भए पनि नउठेको ब्याज नियामकीय जगेडामा ट्रान्सफर गर्दा बैंक सोही आर्थिक वर्षमा सञ्चित नोक्सानीमा पुग्यो । आर्थिक वर्ष २०७९/८० मा कुमारी बैंकले २ अर्ब २० करोड २९ लाख रुपैयाँले घाटा ब्यहोर्यो। आर्थिक वर्ष २०८०/८१ मा पनि बैंकका लागि सकारात्मक हुन सकेन ।
मर्जरपछिको सुविधाले १ प्रतिशत थप स्प्रेड कायम गर्न पाउने भए पनि बैंकले व्यवसाय विस्तार गर्न नसक्दा खुद ब्याज आम्दानी नै घट्यो । यता मर्जरपछि बढेको एकीकृत कर्मचारी खर्च र निष्क्रिय कर्जासँगै थप गर्नुपरेको कर्जा नोक्सानी व्यवस्थाले गर्दा बैंकको सञ्चित घाटा उक्त वर्ष अझै बढेर ५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ पुग्यो।
लगानीमा रहेका कर्जा र गैरबैंकिङ सम्पत्ति बापत व्यवस्था गरिएको रकम करिब ३ खर्ब रुपैयाँ रहेको बैंकको ५ प्रतिशतसम्मको कर्जा नोक्सानी व्यवस्था रकमलाई मात्रै खर्च लेखांकन गर्न पाइने हुँदा करिब १५ अर्ब रुपैयाँसम्मको प्रोभिजन खर्च लेखांकन गर्न पाइन्छ ।
तर, त्यसअघिको वर्षदेखि नै बढेको प्रोभिजनले गर्दा कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्था आर्थिक वर्ष २०८०/८१ मै करिब २२ अर्ब रुपैयाँमाथि पुगेकाे थियाे। लगानीमा रहेको कर्जा र गैरबैंकिङ सम्पत्ति बापत सम्भावित नोक्सानी भनेर छुट्याएको रकमको ५ प्रतिशतभन्दा माथिको रकमको ३० प्रतिशत आयकर बुझाउनु पर्यो ।
आर्थिक वर्ष २०८०/८१ मा करिब ९७ करोड सञ्चालन नाफा रहेको बैंकले आयकर नै ९९ करोड तिरेको छ, जसले गर्दा उक्त वर्ष बैंकको नाफा ४६ करोड रुपैयाँमा सीमित हुन पुगेकाे थियाे।
































