काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) नेपाल पे कार्डमा आबद्ध भएको छ । यो बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्वीच (एनपीएस–एनसीएस) तथा नेपालपे कार्डमा आबद्ध भएको हो ।
सो सम्झौतापत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनपीएस(एनसीएस पूर्वाधारको तयारी पूरा भएसँगै एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड(इस्यु र अक्वायर गर्न आग्रह गरेको छ । कमर्सियल रोल आउट पश्चात् एनआईएमबीले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड जारी गर्ने र प्रयोग गराउने सुविधा उपलब्ध गराउनेछ ।
एनपीएस–एनसीएस प्रणालीले विभिन्न कार्ड स्वीचहरूबीच अन्तर सम्बन्ध स्थापित गर्दै कार्ड कारोबारको राउटिङ, सेटलमेन्ट र डाटा लोकलाइजेसनमा सघाउ पुर्याउनेछ । यसले कार्ड कारोबारको लागत घटाउने, प्रविधिमा आत्मनिर्भरता बढाउने र डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । नेपालपे कार्डको प्रयोगले नेपालकै कार्ड इकोसिस्टममा ऐतिहासिक मोड ल्याउने विश्वास गरिएको छ ।
































