काठमाडौं । कुमारी बैंकले एउटै व्यक्तिका एक भन्दा बढी खाता बन्द गर्ने भएको छ । बैंकले एउटै प्रकृतिको एक भन्दा बढी खाता तथा कार्ड (डेबिट/क्रेडिट) रहेका ग्राहकको खाता बन्द गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (नेपाल राष्ट्र बैंकले तोके बाहेक) खोल्न नपाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
सोही बमोजिम कुमारी बैंकले स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोली वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट/क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकलाई असार २३ गते भित्र पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी खाता तथा कार्ड बन्द गर्न अनुरोध गरेको छ ।
सो समय पश्चात् त्यस्ता खाताहरुमध्ये एक खाता मात्र रहने गरी बाँकी खाताहरू बैंकको नियमानुसार बन्द गरिने बैंकले जनाएको छ । यसबाट ग्राहकमा पर्ने असुविधा प्रति बैंक जिम्मेवार नरहने बताएको छ ।