राष्ट्रिय वाणिज्य बैंकबाट मुद्रण विभागका कर्मचारीले बिना धितो १५ लाखसम्म कर्जा पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकबाट मुद्रण विभागका कर्मचारीले बिना धितो १५ लाखसम्म कर्जा पाउने भएका छन् ।

मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका हुन् ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ ।

सम्झौता अनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको हाल ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०८ वटा एटीएम र ७१ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनामा रहेका छन् ।