काठमाडौं । नेपाली बजारमा १६ सिट क्षमताको प्रिमियम विद्युतीय मिनिबस म्याक्सस ई-डेलिभर ५ सार्वजनिक भएको छ । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले उक्त विद्युतीय मिनिबस बजारमा ल्याएको हो ।
कम्पनीले म्याक्सस ई-डेलिभर ५ को मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । होटल, रिसोर्ट, पर्यटन तथा आतिथ्य सेवा र व्यावसायिक यातायात क्षेत्रलाई लक्षित गरी ल्याइएको यस मिनिबसमा आधुनिक डिजाइन, सुविधासम्पन्न इन्टेरियर र उन्नत सुरक्षा प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
म्याक्सस ई-डेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएसटिएल ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ । गाडीले अधिकतम १२० किलोवाट पावर र २४० न्यूटन मिटर टर्क उत्पादन गर्छ ।
यसमा ७० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जिङ सुविधा छ । उक्त प्रविधिबाट ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीको दाबी छ ।
मिनिबसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, ब्लुटुथ र यूएसबी कनेक्टिभिटी उपलब्ध छन् । चार तहमा समायोजन गर्न मिल्ने स्टेरिङ र स्टेरिङमै जडित नियन्त्रण स्विचले चालकलाई सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
सुरक्षाका लागि गाडीमा ३६० डिग्री क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ड्राइभर स्टेट मोनिटरिङजस्ता सुविधा समावेश छन् । यसका साथै एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम पनि उपलब्ध छन् ।
२०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यस गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।



























