रोयल इनफिल्ड हन्टर ३५० अब तीन नयाँ रंगमा, मूल्य ४ लाख ८७ हजारदेखि

काठमाडौं–रोयल इनफिल्डले नेपालमा आफ्नो लोकप्रिय मोडल हन्टर ३५० लाई नयाँ रंग र थप फिचरसहित नयाँ भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले हन्टर ३५० मा टरम्याक ब्ल्याक तथा टप भेरियन्टमा मुम्बई एल्लो र मुनसट ह्वाइट गरी तीन नयाँ रंग विकल्प थपेको हो ।

नयाँ भेरियन्टमा अलोय ह्विल, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस, सिंगल–च्यानल एबीएस लगायतका सुविधा उपलब्ध छन् । दैनिक प्रयोगमा सहज र चुस्त राइडिङ अनुभव दिने उद्देश्यले हन्टर ३५० को डिजाइन तथा फिचरलाई थप परिष्कृत गरिएको कम्पनीले जनाएको छ ।

नयाँ टरम्याक ब्ल्याक भेरियन्टमा हन्टर ३५० को मौलिक रोडस्टर डिजाइनलाई निरन्तरता दिँदै अलोय ह्विल, राउन्ड ह्यालोजन हेडल्याम्प, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रियर डिस्क ब्रेक र स्पोर्टी ट्याब रेल उपलब्ध गराइएको छ ।

यसमा स्लिप एन्ड असिस्ट क्लच समेत दिइएको छ । कम्पनीका अनुसार यसले राइडिङलाई सहज बनाउन तथा गियर परिवर्तनमा थप सुविधा प्रदान गर्न सहयोग गर्छ ।

हन्टर ३५० को टप भेरियन्टमा मुम्बई एल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रंग थपिएका छन् । जसमा, मुम्बई एल्लोलाई जीवन्त र शहरी वातावरणबाट प्रेरित रंगका रूपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै, मुनसट ह्वाइटमा ‘ओरियन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको कम्पनीले जनाएको छ । नयाँ रंगले हन्टर ३५० को युवा तथा आधुनिक स्वरूपलाई थप आकर्षक बनाउने कम्पनीको विश्वास छ।

कम्पनीले नयाँ टरम्याक ब्ल्याक भेरियन्टको मूल्य ४ लाख ८७ हजार रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, मुम्बई एल्लो र मुनसट ह्वाइट रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ रहेको छ ।

नयाँ भेरियन्ट तथा रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका अधिकृत रोयल इनफिल्ड डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ । नयाँ रंग र भेरियन्ट थपिएसँगै ग्राहकले आफ्नो रुचि र शैलीअनुसार हन्टर ३५० छनोट गर्ने थप अवसर पाउनेछन् ।