एनआईयूका तीन नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्यमा ७८ हजार कटौती

काठमाडौं । काठमाडौँमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा विश्वव्यापी स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड एनआईयूले नेपाली बजारमा आफ्ना तीन नयाँ प्रिमियम विद्युतीय स्कुटरहरू सार्वजनिक गरेको छ ।

कम्पनीले एफक्यूआईएक्स३००, एफएक्स विन्ड र एनक्यूआईजीटीएस गरी तीन नयाँ मोडलहरू एकसाथ सार्वजनिक गर्दै नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियोलाई थप विस्तार गरेको हो । नयाँ सार्वजनिक गरिएका तीनै मोडलहरू फरक–फरक वर्गका राइडरहरूको आवश्यकता र शैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका छन् ।

एनआईयूको नयाँ पुस्ताको स्मार्ट मोबिलिटीलाई प्रतिनिधित्व गर्ने एफक्यूआईएक्स३०० मा ३,६०० वाट रेटेड क्षमताको मोटर जडान गरिएको छ, जसले अधिकतम ५,६०० वाटसम्मको पीक पावर प्रदान गर्दछ । यस स्कुटरमा ७२ एम्पियर २८ भोल्ट क्षमताका दुईवटा ब्याट्री (डुअल ब्याट्री) प्रयोग गरिएको छ ।

दैनिक आवागमनमा उच्च कार्यसम्पादन, आकर्षक आर्किटेक्चर र स्मार्ट कनेक्टिभिटी खोज्ने नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गरिएको यो स्कुटरले सडकको अवस्था र प्रयोग अनुसार प्रतिचार्ज १३० देखि १५० किलोमिटरसम्मको अनुमानित रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

त्यस्तै, व्यक्तिगत शैली र बोल्ड पहिचान खोज्ने सवारीचालकहरूका लागि एफएक्स विन्ड बजारमा ल्याइएको छ । यस मोडलमा ३,००० वाट रेटेड मोटर र ५,६०० वाटको पीक पावर रहेको छ ।

यसमा ७२ एम्पियर ३२ आवरको सिंगल ब्याट्री प्याक राखिएको छ, जसले सामान्य प्रयोगको अवस्थामा ८० देखि १०० किलोमिटरसम्मको रेन्ज दिन्छ । आफ्नो सवारीलाई आफ्नै भिन्न पहिचानको माध्यम बनाउन चाहने युवाहरूका लागिएफएक्स विन्ड एक उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

यसैगरी, एनआईयूको लोकप्रिय एनक्यूआई प्लेटफर्ममा आधारित एनक्यूआईजीटीएसले प्रिमियम तथा आरामदायी शहरी राइडिङ अनुभव प्रदान गर्छ । एफक्यूआईएक्स३०० जस्तै यसमा पनि ३,६०० वाट रेटेड मोटर (५,६०० वाट पीक पावर) र ७२ भोल्ट २८ एम्पिपयरका दुईवटा ब्याट्री जडान गरिएको छ । यसले पनि प्रतिचार्ज १३० देखि १५० किलोमिटरसम्मको रेन्ज दिनेछ । यस मोडलले नेपालमा नाइयुको प्रिमियम विद्युतीय स्कुटर श्रेणीलाई थप मजबुत र परिष्कृत बनाउने अपेक्षा गरिएको छ ।

तीन नयाँ मोडल सार्वजनिक गरेसंगै एनआईयू नेपालले आफ्नो निकै रुचाइएको एनक्यूआई स्पोर्ट्स स्कुटरको मूल्यमा ठूलो कटौतीको घोषणा गरेको छ ।

यसअघि ३ लाख ४८ हजारमा बिक्री हुँदै आएको यस स्कुटरको मूल्य अब २ लाख ६९ हजार ९०० कायम गरिएको छ ।

कम्पनीका अनुसार २२.४४ प्रतिशत (अर्थात् रु. ७८ हजार १००) ले मूल्य घटाइए पनि स्कुटरको प्राविधिक क्षमता, फिचर र ८० देखि ९० किमिको रेन्ज भने यथावत् राखिएको छ ।