बीवईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी याङवाङ ‘यू८एल’, यस्तो छ मूल्य र विशेषता

काठमाडौं ।बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड याङवाङ अन्तर्गत चार सिट क्षमता भएको नयाँ विलासी एसयूभी याङवाङ यू८एल ‘स्नोक्रेस्ट एडिसन’ चिनियाँ बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले यस रेन्ज एक्सटेन्डेड गाडीको मूल्य १.८ मिलियन युआन अर्थात् करिब २ लाख ६६ हजार ६ सय अमेरिकी डलर तोकेको छ ।

यू८एल स्नोक्रेस्ट एडिसनलाई बीवाईडीको सबैभन्दा विलासी मोडल मानिएको छ, जसले रोल्स रोयस, बेन्टले र म्याब्याक जस्ता बहुचर्चित विश्वस्तरीय ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

यस नयाँ एसयुभीलाई बीवाईडीले आकर्षक सिल्भर र गोल्डन रङको समिश्रणमा तयार पारेको छ । गाडीको अगाडिको भागमा रहेको लोगो सक्कली सुनबाट बनाइएको छ भने गाडीमा लिडार सेन्सरहरू जडान गरिएका छन् ।

यस एसयूभीको मुख्य आकर्षण यसको भित्री बनावट हो । गाडीको दोस्रो पंक्तिमा दुईवटा छुट्टाछुट्टै आरामदायी सिटहरू राखिएका छन्, जसको बिचमा टचस्क्रिन, फ्रिज र विशेष कक्षहरूसहितको ठुलो सेन्टर टनेल रहेको छ ।

सिट, ढोका र भित्री भागमा हिमश्रृङ्खलाको सुन्दर आकृति कुँदिएको छ । साथै दोस्रो पंक्तिका सिटहरूमा पावर लेग रेस्ट, टाउको अड्याउने भागमा एकीकृत स्पिकर, फोल्डिङ टेबल र ठुलो प्यानोरमिक रुफ समावेश गरिएको छ ।

५.४ मिटर लामो यो एसयूभीमा २.० लिटरको टर्बोचाज्र्ड इन्जिन र ५६.५८ किलोवाट आवर क्षमताको ब्लेड २.० ब्याट्री रहेको छ । यसमा प्रत्येक पाङ्ग्राका लागि चारवटा विद्युतीय मोटर जडान गरिएको छ, जसले कुल ८८० किलोवाट अर्थात् ११८० हर्सपावर जेनेरेट गर्दछ ।

यो गाडीले मात्र ३.६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ भने यसको कुल रेन्ज एक हजार किलोमिटर रहेको छ । यसका साथै गाडीमा डिसस–पी हाइड्रोलिक सस्पेन्सन र कार्बन सेरामिक ब्रेक प्रयोग गरिएको छ ।