नेपाल मोबिलिटी एक्स्पो २०२५ भृकुटीमण्डपमा शुरू

काठमाडौं । नेपाल मोबिलिटी एक्स्पो २०२५ भृकुटीमण्डपमा शुरू भएको छ। साउन २५ गतेसम्म चल्ने एक्स्पोमा ५० बढी ब्रान्ड सहभागी रहेका छन्।

एक्स्पोमा ३५ नयाँ सवारीसाधनका मोडल प्रदर्शनमा राखिएको छ । आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पो उद्घाटन गरेका छन्।

आयोजक संस्था नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले एक्स्पोमा गाडीको बारेमा मात्र नभई नयाँ प्रविधिको पनि जानकारी र अनुभव लिन पाइने बताइन्। उनका अनुसार एक्सपोका क्रममा दैनिक अटो संवाद पनि हुनेछ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नाइमाले आयोजना गरेको प्रर्दशनी स्थल व्यवस्थित रहेको बताए। सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताउँदै उनले ४ वटा पूर्वपश्चिम राजमार्ग र उत्तरदक्षिण करिडोर निर्माण भइरहेको बताए ।

चालु आर्थिक वर्षमा भृकुटीमण्डपमा प्रदर्शनी स्थल बनाउन बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले यसको निर्माण प्रकृयासमेत अघि बढेको बताए । उनले ३ वर्षभित्र आधुनिक प्रदर्शनी स्थल निर्माण सक्ने दाबी गरेका छन्।

अहिलेको सरकारले अटो क्षेत्रमा स्थिर नीति लिएको उनले बताए । राजश्व अपुग भए पनि अटो क्षेत्रमा करका दरहरू निजी क्षेत्रको आग्रहमा स्थिर राखेको उनले बताए । गाडी आयातकर्ता तथा उत्पादकहरू रहेको संस्था नाइमा हालैमात्र स्थापना भएको हो।