टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित बिद्युतिय एसयुभी ह्यारियर लन्च गर्नु अघि एक महत्वपूर्ण भिडियो बाहिर ल्याएको छ । भोली औपचारिक लन्च गर्ने कार्यक्रमको तयारीका रूपमा कम्पनीले यसको अफरोड क्षमता प्रदर्शन गर्ने भिडियो बाहिर ल्याएको हो ।
‘एलिफेन्ट रक च्यालेन्ज’ शीर्षकको भिडियोमा, ह्यारियर ईभीले केरलाको प्रसिद्ध चट्टान चढेको देखाइएको छ । ३९३७ फिटको उचाइमा अवस्थित एलिफेन्ट रकको आरोहणलाई तीन चरणमा विभाजन गरिँदै आएको छ । जसमध्ये, ह्यारियरले कुन चरणको आरोहण सफल गरेको हो भन्नेबारे खुलाइएको छैन ।
उक्त कार्यक्रम मार्फत टाटाले ह्यारियर ईभीमा उपलब्ध अफ–रोड क्रूज कन्ट्रोल, ३६०–डिग्री क्यामेरा र टेरियन मोडसहित रोटरी ड्राइभमार्फत चयन गर्न सकिने रक क्रल, स्नो र स्यान्डलाई प्रदर्शन गरेको हो । साथै यसमा बुस्ट र इको मोड समेत दिइएको छ ।
ह्यारियर ईभीको प्राविधिक विवरणहरु हालसम्म बाहिर ल्याइएको छैन । सो बिद्युतिय एसयुभी डुअल इलेक्ट्रिक मोटरसहित अल–ह्वील–ड्राइभ सिस्टमा उपलब्ध हुने र ५०० एनएम को अधिकतम टर्क जेनेरेट गर्न सक्षम रहेको जनाइएको छ ।