काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत मोबिलिटी एक्सपो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको उत्पादन मोडल लन्च गर्ने भएको छ ।
मारुतीले पहिलो पटक २०२३ अटो एक्सपोमा ईभीएक्सको कन्सेप्ट मोडल सार्वजनिक गरेको थियो । यसले टाटा कर्भ ईभी, एमजी जेडएस ईभी र आगामी हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
परीक्षणको क्रममा देखिएको ईभीएक्स एसयूभीमा वाई आकारको एलईडी डीआरएल, क्लोज्ड अफ ग्रिल, फ्लस टाइप डोर ह्यान्डल र कनेक्टेड टेल लाइट हुनेछ ।
ईभीएक्सको क्याबिनमा नयाँ कारमा जस्तै ड्युअल इन्टिग्रेटेड स्क्रिन रहेको फ्युचरिस्टिक डिजाइन हुनेछ ।
ईभीएक्समा ६० किलोवाट ब्याट्री प्याक र एक इलेक्ट्रिक मोटर प्रदान गरिनेछ । सो कारले एकपटक फुल चार्ज गरेपछि ५५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यसमा ४०० किलोमिटरको रेन्ज भएको सानो ब्याट्री प्याक पनि हुन सक्नेछ ।
मारुती सुजुकीले सन् २०३० सम्ममा ६ वटा इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । यद्यपी कम्पनीले आफ्नो कुनै पनि कारलाई इलेक्ट्रिक भर्सनमा परिवर्तन गर्ने योजना नरहेको जनाएको छ ।