काठमाडौं । यस वर्षको नाडा अटो शो यही भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा भब्य रूपमा हुँदैछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको नाडा अटो शो २०८१ यही भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा गर्दैछ ।
त्यसको अन्तिम तयारी लगभग पूरा भएको छ । अटो शोका लागि आवश्यक तयारी सम्पन्नभई नाडाले स्टल बुकिङका लागि रजिष्ट्रेसन खुला गरि स्टल पनि तोकि सकेको छ ।
नाडा अटो शो २०८१ मा सहभागी हुन चाहने कम्पनीहरूले गत जेठ ३१ गते बिहीबार देखि असार ५ गतेसम्म रजिष्ट्रेसनको समय तोकिएको थियो ।
त्यसपछि लट्री ड्रद्वारा स्टल छनोट गरिएको छ । नाडा अटो शोको प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहने नाडाले जनाएको छ ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन सदाझैं यसपालि पनि ‘नाडा अटो शो २०८१’ हुँदैछ। यो खुशीको कुरा हो। अटो शो मा गाडीको बुकिङ हुँदा बैंक तथा वित्तिय संस्थाहरूमा कर्जाको माग बढछ। व्याक्ति वा संस्थाले ३० प्रतिशत डाउन पे गर्दा बैंक तथा वित्तिय संस्थाहरूबाट ७० प्रतिशतसम्म कर्जा प्रवाह हुने अवस्था आउँछ।
यसले अर्थतन्त्रमा आयात, रोजगारी,राजस्व र बजारमा माग बढाउन महत्वपुर्ण योगदान गर्ने छ। तर देशमा सडकको अवस्था खराव हुँदा यातायातका साधन प्रयाप्त रूपमा गुडन सकिरहेका छैनन। सवारीसाधन पार्किङको पनि धेरै ठुलो समस्या छ।
संघ,प्रदेश र स्थानीय तहले पार्किङको व्यवस्थापनका लागि बजेट छुटयाउने,नीतिगत व्यवस्था गर्ने र ऐन कानुन निर्माणमा प्राथमिकताकासाथ ध्यान दिन सकिरहेका छैनन। यसले पनि सवारीसाधन व्यवसायमा ठुलो असर पारेको नाडा व्यवसायीहरू बताउछन ।
सुजुकीको विशेष शो हुने
यस नाडा शोमा नेपालको सबैभन्दा लोकप्रिय कार ब्राण्ड सुजुकीले ‘एपिक न्यू स्विफ्ट’ सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डको आधिकारिक वितरक सीजी मोटोकर्पले यो नयाँ गाडी सार्वजनिक गर्न लागेको छ ।
चिनियाँ विद्युतीय सवारी साधनको बाहुल्यता देखिएको यो सालको नाडा अटो शोमा ईभीको आगमनपछि सवारी साधन बिक्रीमा खँडेरी भोगिरहेको सुजुकीले बहुसंख्यक निम्न मध्यम वर्गीय नेपालीलाई लक्षित गरेर यो कार सार्वजनिक गर्न लागेको छ ।
सीजी मोटोकर्पका अनुसार यो गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिने भएको छ । नयाँ गाडीको मूल्य पनि अटो शोमा नै उदघोष गर्ने तयारी कम्पनीले गरेको छ ।
स्वीफ्टको पहिलो मोडल सन् २००५ सालमा लञ्च भएको थियो । दुई दशकदेखि यो गाडी नेपाली बजारमा लोकप्रिय रहँदै आएको छ । यसको लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण नेपालमा धेरैले रुचाएका छन् ।
नयाँ एपिक स्विफ्टमा ‘जेड–सिरिज इन्जिन’ राखिएको छ । यसले उत्कृष्ट प्रदर्शन र दिगोपनमा नयाँ आयाम थप्ने कम्पनीको विस्वास रहेको छ । नयाँ एपिक स्विफ्टमा थुप्रै आधुनिक प्रविधि र फिचरहरु समाबेश गरेको छ । जसले ग्राहकको ड्राइभिङ अनुभवलाई आरामदायी र रमाइलो बनाउने कम्पनीले जनाएको छ ।
आकर्षक एक्सटेरियर, आरामदायी क्याविन, आधुनिक सुरक्षा प्रणाली, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधिको संयोजनबाट नयाँ स्वीफ्ट बजारमा आएको कम्पनीले जनाएको छ । क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ, जसले प्रिमियम अनुभव दिन्छ ।
ड्राइभर र यात्रुहरूको सुरक्षालाई विशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ सेफ्टी फिचरहरु समावेश गरेको छ । चौँथो पुस्ताको यो स्विफ्टले तमाम गुणहरुका साथमा उत्कृष्ट माइलेज र सुरक्षा प्रबन्धहरू प्रदान गरेको छ ।
कस्तो छ अटो शो को इतिहास ?
नाडा अटोमोबाइल्स एशोसिएशनले पहिलो अटो सन् १९९८ मा सम्पन्न गरेको थियो । जुन शोमा २६ प्रदर्शक सहभागी भएका थिए । भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित सो अटो शो, नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा आयोजना गरेका थिए ।
त्यस्तै दोस्रो अटो शो सन् २००० को नोभेम्बर २२ देखि २६ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गरिएको थियो । त्यतिबेला ३१ कम्पनीले सहभागिता जनाएका थिए ।
तेस्रो अटो शो सन् २००४ को फ्रेब्रुअरी १८ देखि २२ गतेसम्म वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको उक्त मेलामा ६२ ब्रान्डको सहभागिता रहेको थियो ।
चौथो अटो शो करिब तीन वर्षको फरकमा सन् २००७ मा २७ सेप्टेम्बरबाट १ अक्टोबरसम्म सञ्चालित उक्त मेला २० कम्पनीको सहभागिता रहेको थियो ।
त्यसैगरि पाँचौँ अटो शो सन् २००९ को अगस्ट २८ बाट १ सेप्टेम्बरसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा जम्मा ३२ ब्रान्डको सहभागिता रहेको थियो ।
छैटौँ अटो शो सन् २०११ को सेप्टेम्बर ७ बाट ११ सम्म आयोजित अटो शोमा सहभागी हुने कम्पनीको संख्या ३८ रहेको थियो ।
सातौँ अटो शो सन् २०११ बाट एशोसिएसनले नेपालमा प्रत्येक वर्ष अटो शो आयोजना गर्ने निर्णय गर्यो । सोहीअनुरुप २०१२ को सेप्टेम्बर १९ बाट २३ सम्म आयोजित सातौँ अटो शोमा ५५ कम्पनीको सहभागिता रह्यो ।
आठौँ अटो शो २०१३ सेप्टेम्बर ११ बाट १५ सम्म आयोजित आठौं अटो शोमा ४० कम्पनीको सहभागिता रहेको थियो । त्यतिबेला नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनले मात्रै अटो शो सञ्चालन गरेको थियो ।
नवौँ अटो शो २०१४ को सेप्टेम्बर ३ बाट ८ सम्म सञ्चालन भएको थियो । अटो शोमा ५० कम्पनीको सहभागिता रहेको थियो ।
दशौँ नाडा अटो शोबाट सहभागी हुने कम्पनी तथा उपभोक्ताका संख्यामा उल्लेख्य वृद्धि भएको थियो । सन् २०१५ को सेप्टेम्बर १५ बाट २० सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा ६५ कम्पनीको सहभागिता रहेको थियो ।
एघारौँ अटो शो सन् २०१६ को ३० अगस्टबाट ४ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा भने ७४ कम्पनीको सहभागिता रहेको थियो । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको शोमा हजारौँ उपभोक्ताको सहभागिता रहेको थियो ।
बाह्रौँ अटो शो २०१७ मा २९ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा ८३ कम्पनीको सहभागिता रहेको थियो ।
तेह्रौ नाडा अटो शो २०१८ भदौ २६ गतेदेखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना भयो । उक्त मेलामा १९ वटा ब्राण्डका चारपाङ्ग्रे २० वटा ब्राण्डका दुईपाङ्ग्रे सवारीसाधनहरु रहेका थिए ।
त्यस्तै नाडा अटोमोबाइल्स एशोसिएशनले १४ औँ संस्करण मेला पनि उत्साहजनक नै रहेको थियो । २०७६ भदौँ १० गतेदेखि १५ गतेसम्म नाडा अटो शोको १४ औँ सस्करण मेला भएको थियो उक्त वर्षको मेलामा ९५ वटा स्टलहरू रहेका थियो भने करिब ७५ हजारको संख्यामा अवलोकनकर्ताहरूले मेला अवलोकन गरेका थिए ।
जुन कोभिड १९ को महामारी र सरकारले सवारी आयातमा लगाएको प्रतिबन्ध अघिको अन्तिम शो को रूपमा रहेको थियो । त्यसपछि करिब चार वर्षपछि २०८० सालमा आएर नाडा अटो शो भएको थियो । जसमा विगतभन्दा उत्साहजनक रूपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएका थिए।