प्रधानमन्त्रीलाई नाडाले भन्यो– अटोमोबाइल क्षेत्रमा गतिशीलता ल्याउन ‘लोन टू भ्यालु रेसियो’ ७०५ पुर्‍याउनुपर्छ

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले अटो माबोइल क्षेत्रमा पुनः गतिशीलता ल्याउन निजी सवारी साधनका लागि ‘लोन टू भ्यालु रेसियो’ ७५ प्रतिशत पु¥याउनुपर्ने बताएको छ ।

आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नाडाका प्रतिनिधिमण्डलले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरुबारे छलफल गर्दै अटोमोबाइल क्षेत्रमा पुनः गतिशीलता ल्याउन विभिन्न नीतिहरू परिमार्जन गर्नुपर्ने बताएको हो ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूबारे संक्षिप्त रुपमा चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिहरुका कारण व्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुँदै गएको सन्दर्भमा नेपालको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझावहरु समेत पेश गरेको छ ।

उक्त छलफलमा अध्यक्ष करण चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरुबाट निजी सवारी साधनको ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रकियामा ‘लोन टू भ्यालु रेसियो’ हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागू भएपछि लागू भएको मिति भन्दा अगाडि कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागू नहुने तर यो लागू भएको मितिपछि कर्जा लिएकाहरुलाई मात्रै चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए ।