होण्डा बिक्री गर्ने स्याकर ट्रेडिङको व्यापार पाँच महिनामै रु. पाँच अर्ब

काठमाडौं । नेपालमा होण्डा ब्राण्डका दुई पाँग्रे सवारी साधन बिक्री गर्ने स्याकर ट्रेडिङ कम्पनीले राम्रो व्यापार गरेको छ । कम्पनीले अंग्रेजी आर्थिक वर्षको पहिलो पाँच महिनामै चार अर्ब ९५ करोडको व्यापार गरेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालको अनुसार कम्पनीले सन् २०२३ मा नौ अर्ब ७१ करोड ८० लाखको व्यापार गरेको छ । सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाखको व्यापार गर्दा स्याकारले सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाखको व्यापार गरेको थियो ।

यस्तै, कम्पनीले सन् २०२० मा ११ अर्ब ४६ करोड ७० लाखको व्यापार गरेको थियो । स्याकार ट्रेडिङले चालु वर्ष २०२४ को पहिलो पाँच महिनामै चार अर्ब ९५ करोड ८० लाखको व्यापार गरेको इक्राले जनाएको छ ।

स्याकर ट्रेडिङ नेपालमा मोटरसाइकल तथा स्कुटर बिक्रेताहरुमा तेस्रो नम्बरमा रहेको छ । यसअघि यो कम्पनी नम्बर वान थियो ।

पहिलो नम्बरमा मोटरसाइकल बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।र दोस्रो नम्बरमा एमएडब्लु इन्टरप्राइजेज रहेको छ । स्याकार ट्रेडिङको देशभर १६ वटा डिलर कम्पनीकै मातहतमा रहेको छ भने ८० वटा डिलरसिप दिएको छ ।

कम्पनीमा ज्योति परिवारको लगानी रहेको छ । सौरभ ज्योति अध्यक्ष रहेका छन् । कम्पनीको स्कुटर सेगमेन्टमा डियो र मोटरसाइलक सेगमेन्टमा साइन लोकप्रिय रहेको छ ।