मिड सोलु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता शेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।