अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यत्तिहरु पनि सासु कोषमा

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आफ्नो क्षेत्र विस्तार गर्दै अब अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत गराउने भएको छ ।

बुधबारदेखि नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बिस्तार हुनेगरी शुभारम्भ गर्ने कार्यक्रम थियो ।

तर, बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डकी पत्नी सीता दाहालको निधन भएका कारण सामाजिक सुरक्षा कोषले आयोजना गरेको सो कार्यक्रम रोकिएको हो ।

सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बुधबार रोकिएको योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आबद्धता गराउने प्रक्रिया औपचारिक रुपमा छिटै गर्ने बताए ।

उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको भन्दै अब यस्ता सबै यो कोषमा सूचिकरणमा समेटिने बताए ।

प्रमुख कार्यकारी निर्देशक ज्ञवालीले बुधवार प्रधानमन्त्री दाहालले शुभारम्भ गर्ने कार्यक्रम रहेपनि सिता दाहालको निधन लगायत विशेष कारणले अहिले हुन नसकेको बताए ।

उनले कोषले शुरुवाती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने श्रमिक,निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई आबद्ध गराउने योजना रहेको बताए ।

उनले सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको बताए ।

उनले यस व्यवस्था अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता,आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको पनि बताए ।

यसैगरि, ज्ञवालीले अनौपचारिक क्षेत्रमा श्रमिकहरुको लागि न्यूनतम आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउने गरी मासिक रुपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिक सरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताए ।

उनले कोषमा अहिलेसम्म ६ लाख २५ हजार भन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारि दिए ।

कोषले उपलब्ध गराउने सुविधाहरु कतिपय असीमित दायित्व पनि रहेको बताउँदै उनले कोषले स्थानीय तह एवं पालिकाहरुसँग सम्झौता गर्ने र त्यो भित्र आबद्ध भएका विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिक र स्वरोजगारीमा रहेका व्यक्तिहरुलाई पहिचानको आधार, परिचय दिने आधार र सम्भव भएसम्म स–योगदान गरेर त्यसको व्यवस्थापन पनि पालिका स्तरबाटै गर्ने योजना रहेको बताए ।

सोही योजना बमोजिम कोषले बुधवार स्याङ्जाको फेदीखोला गाउँपालिकासँग सम्झौता गरेको उनले बताए ।

कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीको उपस्थितिमा सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच यस्तो सम्झौता भएको छ ।

२०७९ सालको २५ मंसिरमा स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि बमोजिम अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी कुल २०.३७ प्रतिशत रकम हाल एक हजार ९ सय बाह्ररुपैया मासिक रुपमा कोषमा योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुने गरी सम्झौता गरेको हो ।

सो कार्यक्रममा फेदीखोला गाउँपालिकाले हाल निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिकलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधि बमोजिमका सुविधाहरु प्रदान गर्नेगरी अघी बढेकोमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले खुशी व्यक्त गरे ।

सो कार्यक्रममा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीले कोषलाई सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गरी आम नागरिक सम्म पु(याउने गरी अगाडी बढ्न निर्देशन दिए । उनले अनौपचारिक क्षेत्रको कार्यक्रमको बिस्तारका लागि सबै ७५३ वटै पालिकाहरुलाई आह्वान गरे ।

कोषका प्रवक्त विवेक पन्थीले सबै पालिकाले २०७६ सालदेखि पालिका अन्तर्गत कार्यरत अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु उपलब्ध गराइरहेको योजनालाई सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध गराउने उद्देश्यले यस्तो सम्झौता गरेको बताए ।

अनौपचारिक क्षेत्रमा श्रमिक र स्वरोजगारमा रहेका श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्धता अनिवार्य नभएको भन्दै कोषले अनौपचारिक र स्वरोजगार श्रमिकहरू ऐच्छिक रुपमा आबद्ध हुनसक्ने बताएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।