skip this prime bank skip

एक सातासम्म वर्षाको अनुमान

काठमाडौँ, वैशाख १७ गते । अबको केही दिनसम्म देशव्यापी वर्षा हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम हुँदै शुक्रबार भित्रिएको वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि शनिबार बिहानैदेखि वर्षा सुरु भएको हो।

भारतको उत्तराखण्ड र पश्चिम भेग हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त प्रणालीले देशका सातै प्रदेशका पहाडी भेगमा शनिबार वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले पूर्वतर्फ सर्दै गरेको प्रणाली आइतबारसम्म तराई भेगका सबै स्थानमा वर्षा गराउने गरी अघि बढेको बताउनुभयो।

उहाँले आइतबार अझ बढी मात्रामा वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले सोमबार वर्षा कम भए पनि फेरि अर्को प्रणाली भित्रनेक्रममा रहेकाले वर्षा दोहोरिने जानकारी दिनुभयो। माटो भिज्ने गरी वर्षा हुने भएकाले पूर्वमनसुन सक्रिय हुनु किसानका लागि राहत हुनेछ।

केही दिनयता ह्वात्तै बढेको गर्मीबाट पनि यो वर्षाले शीतल प्रदान गरेको छ। तराईको तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो। वर्षाका कारण तापक्रम ३५ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।