चीनमा पेट्रोल गाडी उत्पादन बन्द गर्ने एमजीको घोषणा

काठमाडौं–चिनियाँ अटोमोबाइल कम्पनी एमजीले सन् २०२७ जनवरी १ देखि चीनमा पेट्रोल तथा डिजेल इन्जिनयुक्त गाडी उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले अब पूर्ण रूपमा न्यू इनर्जी भेइकल(एनईभी) उत्पादनमा केन्द्रित हुने रणनीति अघि सारेको हो ।

एमजीले नोभेम्बर २७ मा आयोजित २०२६ ग्वाङ्झाउ अटो शोका क्रममा यस्तो घोषणा गरेको हो । यो निर्णयसँगै चिनियाँ मा बिक्री हुँदै आएका एमजीका परम्परागत इन्टरनल कम्बसन इन्जिन (आईसीई) मोडलको उत्पादन रोकिनेछ ।

कम्पनीको यो निर्णयले एमजीको चीनस्थित उत्पादन रणनीतिमा ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको छ । अब कम्पनीले ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) र प्लगइन हाइब्रिड इलेक्ट्रिक भेहिकल (पीएचईभी) लगायतका एनईभी उत्पादन तथा विकासलाई प्राथमिकता दिनेछ ।

यद्यपि, चीनमा उत्पादन बन्द भए पनि विदेशमा बिक्री हुने एमजीका पेट्रोल गाडीमा भने तत्काल कुनै प्रत्यक्ष असर नपर्ने उसको भनाई छ । कम्पनीले विभिन्न देशको ऊर्जा अवस्था, ग्राहकको रुचि र सरकारी नीतिअनुसार विद्युतीय सवारीतर्फको रूपान्तरण अघि बढाउने स्पष्ट पारेको छ ।

त्यस्तै, हाल पेट्रोल गाडी प्रयोग गरिरहेका ग्राहकलाई कम्पनीले बिक्रीपछिको सेवा, मर्मतसम्भार तथा आवश्यक स्पेयर पाट्र्स सवारीसाधनको जीवनकालभर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

एमजीको विद्युतीय सवारी बिक्रीमा पछिल्लो समय उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीका अनुसार सन् २०२६ अक्टोबरमा मात्रै विश्वभर ८५ हजारभन्दा बढी एनईभी बिक्री भएका थिए । त्यसमध्ये चीनमा मात्र ३१ हजारभन्दा बढी युनिट बिक्री भएका थिए ।

कम्पनीको यस निर्णयले चीनको अटोमोबाइल बजारमा परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको तुलनामा एनईभीको प्रभाव तीव्र रूपमा बढिरहेको संकेत गरेको छ ।