हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) डे अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न अनुमति दिएको हो । यससँगै दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न सकिने अनुमतिप्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाइने छ । यस अनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आइएक्सबाट दैनिक विद्युत् आयात गर्न सकिने छ ।

अनुमति अनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तीन सय मेगावाट तथा न्यु नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमतिप्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताउनुभयो ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाटजडित क्षमता भएका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसलगायतका अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषण अनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ । यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ । विशेष गरी माघ र फागुनमा दैनिक औसत ४५० देखि पाँच सय मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ ।

उच्च माग हुने पिक आवरमा दैनिक आठ सयदेखि नौ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको प्राधिकरणको अनुमान छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाब क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने अनुमान गरिएको छ ।

५६ मेगावाट निर्यात अनुमति

नेपाल विद्युत् प्राधिकरणले तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले मङ्सिर १ देखि आगामी साउन १५ सम्म विद्युत् निर्यात गर्न पाउने छ ।