काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ। बिहीबार बिक्रीका लागि उपलब्ध गराइएका सबै असर्फी सकिएपछि केन्द्रीय बैंकले आज चाँदीका मेडालियन मात्रै बिक्री गर्ने भएको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार उत्पादन गरिएका सुनका असर्फी बिहीबार नै सकिएकाले शुक्रबार बिक्री गर्न नसकिने भएको हो। असर्फी तयार गर्ने प्रक्रियामा प्राविधिक तथा प्रक्रियागत जटिलता रहने र बिक्रीयोग्य उत्पादन सीमित हुने भएकाले मागअनुसार उपलब्ध गराउन नसकिएको उनले बताए।
तिहार तथा धनतेरसलाई लक्षित गर्दै राष्ट्र बैंकले बिहीबारदेखि काठमाडौँको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन कर्मचारीसहितका खरिदकर्तालाई गरी करिब चार हजार पाँच सय सुनका असर्फी बिक्री भएको जनाइएको छ।
केन्द्रीय बैंकले यस वर्ष असर्फी उत्पादनका लागि वाणिज्य बैंकहरूबाट ३५ किलोग्राम सुन खरिद गरेको थियो। अघिल्लो वर्ष सुन अभावका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएकोमा यस पटक सुनका असर्फीसमेत बिक्रीमा ल्याइएको थियो।
बिहीबार राष्ट्र बैंकले प्रतिव्यक्ति एउटा सुनको असर्फी र बढीमा दुईवटा चाँदीका मेडालियन बिक्री गर्ने व्यवस्था मिलाएको थियो। सुनको असर्फी २.५ ग्राम तथा चाँदीका मेडालियन १० ग्राम तौलका छन्।
पहिलो दिन २.५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार चार सय रुपैयाँ र १० ग्रामको चाँदीको मेडालियन तीन हजार आठ सय रुपैयाँमा बिक्री गरिएको थियो।
शुक्रबार भने चाँदीका मेडालियनको मूल्य प्रतिथान तीन हजार सात सय रुपैयाँ कायम गरिएको उल्लेख छ। सुनका असर्फीको मौज्दात सकिएकाले चाँदीका सिक्का खरिद गर्न चाहने सेवाग्राहीका लागि मात्रै बिक्री खुला रहने जनाइएको छ।
राष्ट्र बैंकले हरेक वर्ष धनतेरसको अवसर पारेर सुनचाँदीका सिक्का बिक्री गर्दै आएको छ। यस वर्ष सुनका असर्फी पुनः बिक्रीमा ल्याइए पनि उपलब्ध मौज्दात पहिलो दिनमै सकिएको हो।



























