काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबि) का एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८ लाख ७ हजार ६०९ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएका छन् । उक्त सेयर खरिदका लागि बैंकले हाल कायम संस्थापक सेयरधनीलाई ३५ दिनको समय उपलब्ध गराएको छ ।
बैंकका अनुसार सम्बन्धित सेयरधनीले आफ्नो नाममा रहेको सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिद गर्ने अवसर दिएको हो ।
निर्धारित ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा वा प्रस्तावित सबै सेयर बिक्री हुन नसकेमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यस्तो बिक्री प्रचलित कानुनी तथा नियामकीय व्यवस्था अनुसार हुनेछ ।





























