काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २४.५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९० करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ५१ करोड ६२ लाख १० हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा बढेर ६ अर्ब ८० लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम समायोजनपछिको सञ्चालन आम्दानी ५ अर्ब ५१ करोड २५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ५० करोड ५२ लाख २३ हजार रुपैयाँ थियो ।
बैंकको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३७ करोड १६ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, करअघिको नाफा ३ अर्ब २२ करोड ३३ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ४८ करोड ९१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
यता, बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, बैंकले ग्राहकलाई ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
बैंकको कुल सम्पत्ति पनि बढेर ८ खर्ब ३५ अर्ब ३६ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति ८ खर्ब २० अर्ब ८९ करोड ७२ लाख ७७ हजार रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख २० हजार रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको खराब कर्जाको अनुपात केही घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.९८ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.७९ प्रतिशत कायम भएको छ ।
अन्य वित्तीय सूचकमा पनि सकारात्मक अवस्था देखिएको छ । बैंकको कोष लागत ३.९२ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत कायम भएको छ भने आधार दर ५.४० प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ ।
यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ । स्वपुँजीमा प्रतिफल ११.०१ प्रतिशतबाट बढेर १३.२९ प्रतिशत कायम भएको छ भने सम्पत्तिमा प्रतिफल १.०५ प्रतिशतबाट बढेर १.१२ प्रतिशत पुगेको छ ।





























