skip this prime bank skip

घिउको उत्पादन घट्दा बजारमा अभाव

काठमाडौँ । नेपालीलाई चाडपर्वले गाँजेको छ तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ । घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो ।

दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगमा घिउको मौज्दात छैन । डिडिसीमा ५० टन बटर मौज्दात रहे पनि निजी डेरीमा घिउ मौज्दात नरहेको जनाएका छन् । पछिल्लो समय मुलुकभर दुधको उत्पादन घट्दै गएपछि घिउ उत्पादनमा कमी आएको डिडिसीले जनाएको छ ।

राष्ट्रिय डेरी एसोसिएसन नेपालका अध्यक्ष प्रह्लाद दाहालले बजारमा घिउको माग बढेकाले अभाव देखिएको जानकारी दिनुभयो । “विगतका वर्षमा घिउको खपत धेरै नबढ्दा अभाव हुने गरेको थिएन,” दाहालले भन्नुभयो, “अहिले बजारमा माग बढेकाले पनि अभाव देखिएको हो ।”

तिज, सोह्रश्राद्ध, दसैँतिहारको बेलामा बजारमा घिउको खपत बढ्ने तर यसै सिजनमा दुधको उत्पादन पनि घट्ने हुँदा घिउको उत्पादनमा समेत कमी भएको उहाँले जानकारी दिनुभयो ।

डिडिसीले औसत वार्षिक आठ लाख केजी नौनी उत्पादन गर्ने गरे पनि यो मात्रा अहिले दुई तिहाइले घटेको जनाएको छ । बजारमा प्रतिकेजी एक हजार तीन सय रुपियाँमा घिउ बिक्री भइरहेको छ ।

यस्तै नौनीघिउ प्रतिकेजी नौ सय रुपियाँ मूल्य रहेको छ । डिडिसीले भने प्रतिकेजी एक हजार २५० रुपियाँ घिउ बिक्री गरेको जनाएको छ ।

खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौता भएकोमा साउनको अन्तिममा ४२० केजी घिउ निर्यात गरिएको डिडिसीले जनाएको छ । एसोसिएसनका अनुसार दैनिक ३२ हजार लिटर घिउ उत्पादन भइरहेको छ ।

दुधको उत्पादन घट्दा घिउ उत्पादनमा प्रत्यक्ष असर पर्ने गर्छ । हाल दैनिक मुलुकभर ३२ लाख लिटर दुध सङ्कलन भइरहेको एसोसिएसनले जनाएको छ । उत्पादन कम हुँदा दुधको सङ्कलनमा कमी आएको एसोसिएसनले जनाएको छ ।

निजी डेरी उद्योगले वार्षिक चार हजारदेखि पाँच हजार केजी घिउ निर्यात गर्ने गरेका छन् । केही वर्षअघिसम्म बाहिरी मुलुकबाट घिउ आयात हुने गरेकोमा अहिले रोकिएको छ ।