आईओसीबाट खरिद मूल्य बढेर आए पनि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत्

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि साबिककै बिक्री मूल्य कायम राख्ने निर्णय गरेको छ।

भोटेकोसी बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । निगमको यो निर्णय भदौ ३१ गतेदेखि लागू भएको छ।

निगमका अनुसार भदौ ३० गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १२ रुपियाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपियाँ ६८ पैसा बढेर आएको थियो। अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ।

तर, बढेको खरिद मूल्यअनुसार तत्काल बिक्री मूल्य वृद्धि नगर्ने निर्णय निगमले गरेको हो। नयाँ निर्णयअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपियाँ र तेस्रो वर्गमा २०० रुपियाँ कायम गरिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज पर्छन् । सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा रहेका छन् ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपियाँ कायम गरिएको छ। काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ६९७ अमेरिकी डलर निर्धारण गरिएको निगमले जनाएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि यथावत् राख्दै १४।२ किलोग्रामको प्रतिसिलिन्डर २ हजार ६० रुपियाँ कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेका बेला बिक्री मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपियाँ घाटा हुने अनुमान गरिएको छ।