काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली बैंक खाता र क्यूआर प्रयोग गरी भइरहेको ठगीप्रति सर्वसाधारणलाई सचेत गराएको छ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ठगीबाट जोगिन सबैलाई सचेत गराएको हो। उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता वा क्यूआर प्रयोग गरी हुन सक्ने ठगीप्रति सावधान रहन राष्ट्र बैंकले आग्रह गरेको छ।
उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रुपमा रकम संकलन तथा ठगी भइरहेका घटना भएको सार्वजनिक भएकोले यस्ता कार्यप्रति सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ। विपद्को यस घडीमा उक्त कोषमा आफूले योगदान गर्न चाहेको रकम पठाउनुअघि यी विषयमा विशेष ध्यान केन्द्रीय बैंकले आग्रह गरेको छ।
- खाताको नाम अनिवार्य यकिन गर्नेः मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा कुनै पनि माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम “Prime Minister Disaster Relief Fund” रहेको यकिन गर्ने ।
- रकम यकिन गर्नेः आफूले योगदान गर्न चाहेको रकम प्रविष्टि गर्दा ध्यान दिने र सो को पुनः यकिन गर्ने।
- आधिकारिक स्रोतबाट मात्र खाता विवरण लिनेः राष्ट्र बैंकको वेबसाइटमा वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेखित आधिकारिक बैंक खाता विवरणमात्र प्रयोग गर्ने।
- अनधिकृत क्यूआर कोड स्क्यान नगर्नेः सामाजिक सञ्जाल, ई–मेल तथा म्यासेजिङ एपमा फैलिएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्ने।
- ओटीपी, पिन वा पासवर्ड कसैलाई नदिनेः सहयोग रकम पठाउन सहयोग गर्ने बहानामा कसैले मागेमा ओटीपी, पिन, पासवर्डजस्ता संवेदनशील व्यक्तिगत विवरण कसैलाई नदिने।
- आधिकारिक एप्लिकेसनको प्रयोग गर्ने।
- ठगीमा परेको लागेमा जानकारी दिनेः आफू ठगीमा परेको लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउने।


























