काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अघि बढाएको प्रक्रिया अदालतकाे आदेशका कारण तत्काल रोकिएको छ।
हाल निलम्बित प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले नेपाल बीमा प्राधिकरण र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया रोक्न आदेश दिएको छ।
गत भदाै ८ गते भएको एकल इजलासको सुनुवाइपछि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियाे। अदालतले नेपाल बीमा प्राधिकरण र हिमालयन लाइफ इन्स्योरेन्सलाई समेत उपस्थित गराएर भदौ १५ गते अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने विषयमा छलफल गर्ने आदेश दिएको छ।
हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन खुलाइसकेको अवस्थामा सर्वोच्च अदालतको आदेशपछि उक्त प्रक्रिया हाललाई स्थगित भएको छ।
यही भदौ १५ गते हुने छलफलमा अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिए कम्पनीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ। अल्पकालीन आदेशले निरन्तरता पाएमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया थप प्रभावित हुनसक्छ । डेपुटी प्रमुख कार्यकारी अधिकृतले कामु सिईओका रूपमा कम्पनीको कामकारबाही सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्छ।
बीमा ऐनमा भएको व्यवस्थाअनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा दाहाल तत्काल सिईओका रूपमा कम्पनीमा फर्कने सम्भावना कमै छ। दाहाल धितोपत्रसम्बन्धी कसुरमा गत साउन २२ गते धरौटीमा रिहा भएका थिए। दाहाल कसुरमा विवादमा आएपछि कम्पनीले नयाँ सिईओ नियुक्ति प्रकृया अगाडि बढाएकाे थियाे। यही भदौ १५ गते सर्वाेच्च अदालतमा हुने बहसले हिमालयन लाइफ इन्स्योरेन्समा नयाँ सिईओ नियुक्तिको प्रक्रिया अघि बढ्ने वा तत्कालका लागि रोकिरहने छिनाेफानाे हुनेछ।































