सिटिजन्स बैंकको नाफा २ अर्ब माथी, अन्य सूचक कस्ता ?

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा नाफा ६०.६८ प्रतिशत बढाएको छ ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहो अवधिमा नाफा १ अर्ब २८ करोड ७१ लाख रहेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाखभन्दा बढीले वृद्धि भएको छ ।

नाफासँगै  बैंकको  प्रति सेयर आम्दानी ८.७१ रुपैयाँ बाट बढेर १३.५३ पुगेको छ । यसले बैंकको आम्दानी क्षमतामा सुधार भएको देखाउँछ ।बैंकको कोर क्यापिटल अन्तर्गत टियर एडुकेसी रेसियो ८.९५ प्रतिशतबाट बढेर् ९.२३ प्रतिशत पुगेको छ। समग्र यस्तो रेसियो भने १२.४७ प्रतिशतमा कायम रहेको छ । यसले बैंकको प्राथमिक पूँजी आधार थप बलियो हुँदै गएको देखाएको छ ।

बैंकको नाफा वृद्धिमा इम्पेयरमेन्ट एक्सपेन्सेसमा आएको ६९.०५ प्रतिशतको ठूलो गिरावट पनि महत्वपूर्ण रहेको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रहेको इम्पेयरमेन्ट एक्सपेन्सेस गत आर्थिक वर्षमा घटेर ८२ करोड ९४ लाखमा सीमित भएको छ । १ अर्ब ८५ करोड इम्पेयरमेन्ट खर्च घट्नुले बैंकको खुद नाफामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

बैंकको कस्ट अफ डिपोजिट ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशत, आधारदर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा आएको छ। बैंकको नेट फी एन्ड कमिशन ६.३३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड२३ लाख ३१ हजार, नेट ट्रेडिङ एन्ड अदर अपरेटिङ इनकम ५१.१२ प्रतिशतले बढेर ६२ करोड ३१ लाख ९१ हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५२ करोड ३१ लाख कायम भएको छ । जुन ३.३७ प्रतिशत बराबर हो ।

वितरणयोग्य नाफा तुलनात्मक रूपमा कम देखिनु बैंकको सञ्चालन तथा नाफा क्षमतामा कमी आएको कारण नभई नियामकीय प्रावधान अनुसार गरिएको समायोजनको प्रभाव भएको बैंकले जनाएको छ । बैंकको निष्कृय कर्जा ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ । बैंकले २ खर्ब ३३ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७७ अर्ब ३३ करोड २२ लाख कर्जा लगानी गरेको छ ।