काठमाडौँ । बुद्ध एयरले आज एटीआर-७२-६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
बुद्ध एयरले कल साइन ९ एन-एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर-७२-६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् ।
बुद्ध एयरले आयात गरेको एटीआर-७२-६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि आरएनपी-एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुध्द एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ ।
कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुध्द एयरको विश्वास छ । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ ।
हाल ‘इन्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम’ (आइएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १६०० मिटर ‘भिजिबिलिटी’ आवश्यक पर्छ ।
बुद्ध एयरले आगामी अगष्टको अन्तिमतिर एक एटीआर-७२-६०० सिरिजको विमान ल्याउनेसमेत जानकारी दिएको छ । त्यसैगरी आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार कार्य गरिरहेको छ । बुध्द एयरसँग हाल एउटा एटीआर-४२-३२०, १५ वटा एटीआर-७२-५०० र एउटा एटीआर-७२-६०० विमान छन् ।






























