घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । गत आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । अघिल्लो आवमा ६४ अर्ब ९६ करोड रुपियाँ लगानी प्रतिबद्धता आएकामा आर्थिक वर्ष २०८२/८३ मा एक हजार ११६ परियोजनामार्फत ५८ अर्ब १० लाख रुपियाँको वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । यस अनुसार यस वर्ष करिब सात अर्ब रुपियाँले वैदेशिक लगानी प्रतिबद्धता खुम्चिएको हो ।

विभागका अनुसार असारमा मात्र २०२ परियोजनामार्फत १० अर्ब ३८ करोड ४१ लाख रुपियाँ प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा असारमा लगानी प्रतिबद्धता उच्च आएको विभागको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा रेगुलर रुटमार्फत आठ अर्ब ५१ करोड ६५ लाख रुपियाँ लगानी प्रतिबद्धता आउँदा अटोमेटिक रुटमार्फत एक अर्ब ८६ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषिक्षेत्रमा मात्रै १८ परियोजनामार्फत २३ अर्ब १८ करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको देखिन्छ । सबैभन्दा बढी परियोजना सूचना प्रविधिक्षेत्र अन्तर्गतका छन् ।

विभागमा दर्ता भएका कुल एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिक्षेत्रका मात्रै ७२७ परियोजना छन् । यो सङ्ख्या कुल परियोजनाको ६५ प्रतिशत हो । यस्तै ऊर्जामूलक चार परियोजनामार्फत सात अर्ब १६ करोड ८६ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पर्यटनमूलक २२७ परियोजनामार्फत १३ अर्ब ९९ करोड ७४ लाख ५० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार ७१ वटा सेवामूलक परियोजनामा चार अर्ब ९१ करोड ४० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै पूर्वाधारमूलक दुई परियोजना मार्फत एक अर्ब ८० करोड ४४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै खनिजमूलक चार परियोजनामार्फत १८ करोड ५० लाख रुपियाँ प्रतिबद्धता आएको छ ।

कुल लगानी प्रतिबद्धतामध्ये, कृषिक्षेत्रमा ४० प्रतिशत, पर्यटनक्षेत्रमा २४ प्रतिशत, ऊर्जाक्षेत्रमा १२ प्रतिशत सेवाक्षेत्रमा नौ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा सात प्रतिशत लगानी प्रतिबद्धता आएको छ । एक वर्षमा एक हजार ९२ साना उद्योग, १२ वटा मझौला र १२ ठुुला उद्योग दर्ता भएको विभागले जनाएको छ ।