काठमाडौं । सानिगाड हाइड्रोको आयोजना प्रभावित स्थानीयले आइपीओ भर्ने म्याद लम्बिएको छ। कम्पनीले गत चैत ८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीले चैत ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा चैत २२ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब आउँदो वैशाख ७ गतेसम्म स्थानीयले यो आइपीओ आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ८५ लाख ५० हजार कित्ता शेयर ल्याउन अनुमति पाएको थियो।
कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशतले हुन आउने २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय निष्कासन गरिरहेको छ। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर अतिप्रभावित क्षेत्र बझाङ जिल्लाका बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दा र बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीयले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयका साथै बुंगलस्थित कम्पनीको पावर हाउसबाट आवेदन दिन सक्नेछन्।































