सिजी मोबाइल्सद्वारा मोटोरोलाका दुई स्मार्टफोन सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाइल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका मोटो जी–०६ पावर र मोटो जी–५७ पावर स्मार्टफोनले नेपालमा मोटोरोला ब्रान्डको एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मोटो जी–०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यसमा ७००० एमएएच क्षमताको ठूलो ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोनमा मिडियाटेक जी–८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ भने फोर जिबी र्‍याम तथा १२ जिबीसम्मको र्‍याम बुस्ट सुविधाले मल्टिटास्किङ अनुभवलाई सहज बनाउने बताइएको छ ।

यसमा ६.८८ इन्चको १२० हर्ज डिस्प्ले, ५० मेगापिक्सेल क्वाड पिक्सेल क्यामेरा तथा डल्बी एटमससहितको स्टेरियो स्पिकर समावेश गरिएको छ । साथै, कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, आइपी–६४ वाटर–रिपेलेन्ट डिजाइन तथा प्रिमियम भेगन लेदर फिनिसले फोनलाई आकर्षक बनाएको कम्पनीको भनाइ छ । नेपाली बजारमा मोटो जी–०६ पावरको मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, मोटो जी–५७ पावरलाई कम्पनीले नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनयुक्त स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ। यसमा स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीको दाबी छ ।

फोनमा ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज उपलब्ध छ भने र्‍याम बुस्टमार्फत २४ जिबीसम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । ७००० एमएएच क्षमताको ब्याट्रीले ६० घन्टासम्म पावर ब्याकअप दिने बताइएको छ ।

फोटोग्राफीका लागि फोनमा मोटो एआईद्वारा सञ्चालित ५० मेगापिक्सेल सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । साथै, ६.७२ इन्च एफएचडीं १२० हर्ज डिस्प्ले, डल्बी एटमससहितको डुअल स्टेरियो स्पीकर, हाई–रेज अडियो तथा बास बुस्ट फिचरले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।

फोनमा एमआइएल–एसटिडी–८१०एच मिलिटरी–ग्रेड सर्टिफिकेसन तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउने छ भने एन्ड्रोइड १७ अपग्रेड तथा तीन वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजारमा मोटो जी–५७ पावरको मूल्य ३७ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट तथा पार्टनर स्टोरमार्फत उपलब्ध हुनेछन् ।