काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज उद्घाटन हुँदैछ ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोना गरिएको साधारण सभा तथा अधिवेशन आज बिहान १० बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्ने तयारी छ ।
साधारण सभा उद्घाटन समारोह सम्पन्न भएलगत्तै दिउँसो १२ बजेदेखि बन्दसत्र सुरू गर्ने तयारी छ भने नयाँ नेतृत्व चयनका लागि भोलि मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ ।
महासंघको विद्यमान विधान अनुसार भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतस् अध्यक्ष बन्दैछन् भने बाँकी पदहरू निर्वाचनमार्फत पूर्ति गरिने छ । जसका लागि उद्योगी–व्यवसायीहरू समूह नै बनाएर महिनौँदेखि निर्वाचनको मैदानमा होमिएका छन् ।
महासंघको निर्वाचन समिति कार्यालयका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अध्यक्ष र कोषाध्यक्षबाहेक जम्मा निर्वाचित हुने ७३ पदका लागि कूल १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला/नगर, वस्तुगत, एसोसिएट्स, द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघ र संस्थापक समूहअन्तर्गतको विभिन्न कलष्टरहरूमा १३७ जना उद्योगी–व्यवसायीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
निर्वाचन समितिका अनुसार जिल्लारनगर तर्फबाट उपाध्यक्ष दुई जना, खुल्ला सदस्य १५ जना, महिला सदस्य दुई जना र प्रत्येक प्रदेशबाट दुई/दुई जना गरी १४ जना केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि निर्वाचन गरिने छ । निर्वाचन समितिका अनुसार सातमध्ये कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
वस्तुगत तर्फबाट उपाध्यक्ष एक जना, कार्यकारिणी सदस्य १३ जना, महिला सदस्य एक जना, वस्तुगत महासंघबाट कार्यकारिणी सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ । यसैगरी, एसोसिएट्स तर्फबाट उपाध्यक्ष एक जना, केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, महिला सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ ।
त्यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य वाणिज्य महासंघका तर्फबाट एक जना कार्यकारिणी सदस्य पदका लागि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । यस्तै, महासंघको संस्थापक सदस्य समूहबाट कार्यकारिणी सदस्य पदमा दुई जनाका लागि निर्वाचन गरिने छ ।
यसरी निर्वाचित गरिने ७३ पदका लागि वैशाख १८ गते साँझ प्रकाशित उम्मेदवारहरूको अन्तिम नामावली अनुसार कूल १३७ जनाको उम्मेदवारी कायम छ । यी उम्मेदवारहरूलाई विभिन्न कलष्टरका एक हजार ८९२ संघसंस्थाका प्रतिनिधिहरूले मतदान गर्दैछन् ।
नयाँ विधान अनुसार एक जना वरिष्ठ उपाध्यक्ष, पाँच जना उपाध्यक्ष र एक जना कोषाध्यक्षसहित सात जना रहने व्यवस्था छन् । सात जना पदाधिकारीमध्ये चार जना साधारण सदस्यको मतबाट र एक जना बरिष्ठ उपाध्यक्ष, एक जना महिला उपाध्यक्ष तथा एक जना कोषाध्यक्ष निर्वाचित कार्यकारिणी समितिले चयन गर्ने छ ।































