आज पनि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आग्रह गरेको छ ।

आइतबार सुरु भएको यो कार्यक्रम अन्तर्गत सोमबार पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाइने भएको छ ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कायक्रम’ अन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल आइतबारदेखि खुवाइएको हो ।

उहाँले सोही अवधिमा एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधी ‘अलबेन्डाजोल’ समेत खुवाइने बताउनुभयो ।

थापाका अनुसार कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।