इरानको सबैभन्दा ठूलो ग्यास क्षेत्रमा अमेरिका–इजरायलको आक्रमण

मध्यपूर्वमा जारी युद्धको बीचमा अमेरिका र इजरायलले अब इरानी ऊर्जा प्रतिष्ठानहरूलाई लक्षित गर्न थालेका छन् । इरानी सरकारी मिडियाका अनुसार अमेरिका र इजरायलले दक्षिणी इरानको असालुयेह सहरमा रहेको साउथ पार्स ग्यास क्षेत्र र तेल तथा ग्यास सुविधाहरूमा हवाई आक्रमण गरेका छन् ।

साउथ पार्सलाई विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र मानिन्छ । रिपोर्टहरूले संकेत गर्दछ कि आक्रमणले ग्याससँगै पेट्रोकेमिकल र तेल पूर्वाधारलाई लक्षित गरेको थियो । इजरायली मिडियाले बुशेहर क्षेत्रमा रहेको ग्यास सुविधामा आक्रमणको पनि रिपोर्ट गरेको थियो।

यसअघि इजरायली रक्षामन्त्रीले भनेका थिए कि बुधबार इरान र लेबनानमा ूठूला आश्चर्यू हुने अपेक्षा गरिएको छ, जुन यी आक्रमणहरूसँग जोडिएको छ।

प्रतिक्रियामा इरानले खाडी देशहरूमा ठूला आक्रमणहरूको चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड कोर्प्सले मानिसहरूलाई साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारका प्रमुख तेल तथा ग्यास प्रतिष्ठानहरूबाट टाढा रहन आग्रह गरेको छ ।

कतारले इरानको ग्यास क्षेत्रहरूमा भएको आक्रमणको निन्दा गरेको छ। अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेको बुधबार १९ औँ दिन हो । अहिलेसम्म २४ सय २८ जनाको ज्यान गइसकेको छ ।